Sunday, March 29, 2020

भाउजुको अंग्रेजी मोह र दाईको तनाव

बिहान ११:३१ मा फेसबुक हेरें।
एकजना भाउजुले १५ मिनेट अगाडि आफ्नो एउटा ताजा भनाई अंग्रेजीमा राख्नुभएको रहेछ। हेरें
तर लाईक र कमेन्ट केही गरिन किनकी त्यो राम्ररी बुझिन र कताकता मलाई त्यस्तो पोष्ट नराख्नु भएको भएपनि हुन्थ्यो यसले कसैको चित्त दुख्न पनि सक्छ भन्ने जस्तो पनि लाग्यो। फेरि अर्कोतिर अहिले कोरोनाको चर्चा चुलिएको बेला हँसाउन खोज्नुभएको होला जस्तो पनि लाग्यो।
११:३३ मा मैले वहाँलाई मेसेन्जरमा लेखें- भाउजु खाना खानुभयो अनि दाई खै त ?
जवाफ: खाईम वावु । दाई त लकडाउन हेर्न चोकतिर जानुभाछ।
म: बाहिर त नजानुपर्ने
जवाफ: खै बावु । मैले भाॅडा माझ्न थालें वहां हिँड्नुभएछ ।
म: मैले भाउजुको फेसबुकको लेखाई हेरें। तर त्यति बुझिन।
जवाफ: त्यत्तिकै ठट्टा गरेको नि बावु।
(ठट्टा भनें पछि मैले अरू भन्न आवश्यक ठानिन)
म: हस् दाइलाई घरै वस्न भन्नुहोला।
जवाफ:OK.

करीव १ घण्टापछि भाउजुको फोन आयो :
म: हजुर भाउजु ।
भाउजु: मैले फेसबुकमा लेखेको कुराले दाई रिसाएर बम्किनु भयो वसिखानु छैन।
म: अनि दादाले के भन्नु भो त?
जवाफ: केही भन्नु भएन। त्यो फेसवुकवाट हटाइहाल भन्नुभयो। अनि रिसाउँदै छततिर जानु भा छ।
म: अनि हटाउन भो त?
- अॅह । हटाकी छैन। के नमिलेको हो बुझेर मात्रै हटाम्ला भनेर।
म: हजुरले के लेख्न खोज्नु भा थ्यो भन्नू त।
- मैले त कोरोना ले वुढावूढीलाई बढी असर गर्छ रे भनेर जेष्ठ नागरिकहरू सचेत रहनुहोला भनेको त हो नि। त्यति लेख्दा के विग्रन्छन् र ?
(मैले पनि बल्ल वहांले लेख्न खोजेको कुरा बुझे)
म: ए हो र। त्यसो भए अहिले तपाईले भन्न खोजेको जस्तो अलि मिलेको छैन हटाउनू। अनि कि नेपालीमा लेख्नू। कि दाजुसँग सिकेर लेख्नू होला नि त रिसाउनुपर्ने के छ र ।
भाउजु: अनि तपाईले अघि हेर्दा नै मिलेन भन्दिन पर्दैन त?
म: अनि तपाईले ठट्टा गरेको भन्नु भो अनि मैले त पत्याएं।
- तपाईँले लाईक र कमेन्ट केही नगरेको देखेर मलाई कस्तो कस्तो त लाग्या थ्यो। हस म हटाउॅछु।
म: हस् ।

वहांले लेख्न खोज्नुभएको रहेछ -
Be Careful Senior Citizens.
लेखिएछ-
Be Ware of Senior Citizens.

No comments:

Post a Comment