सरदारजी गाउॅभरीकै सज्जन व्यक्ति थिए ।
उनका दुईवटा गोठहरू थिए। एउटा छानो चुहिने पुरानो र एउटा सुविधा सम्पन्न नयाँ गोठ ।
नयाँ गोठमा गाईलाई राखेका थिए भनें पुरानोमा गधालाई । उनी सधै गाउॅ तिर निस्कॅदा गधा चढेर जाने गर्थे ।
घरमा फर्के पछि दाना, पानी, हरियो घाॅस सहितको गाईको स्याहार सुसार आफैले गर्थे। गाईले खाएर बाॅकी रहेको जति आफैंले गधातर्फ सारिदिन्थे र उसलाई थप पराल पनि आफैले राखिदिन्थे।
एकदिन सरदारजीले सोंचे - खानपान र स्याहार सुसारमा गाईलाई भन्दा गधालाई अलि कम भएको छ।
अनि गोठ पनि अलि पानी चुहिने खालको नराम्रो छ। उसलाई अन्याय भएको छ।
त्यसैले उनले शुरूमा गाईलाई भनें - अब केही समय तिमी पुरानो गोठमा बस। त्यतिन्जेल गधाले पाएकै जस्तो खान्गी र सुविधा पाउने छौ। यो नयाँ गोठमा गधा बस्नेछ र उसले तिम्रै जस्तो खानपान र सुविधा पाउनेछ।
गाईले एकछिन सोच्यो र भन्यो - हजुरको त्यही इच्छा छ भनें मेरो कुनै गुनासो छैन म पुरानो गोठमा आजैदेखि बस्छु । म खुशी छु।
सरदारजीले यहीं कुरा गधालाई पनि भनें र आजै साँझदेखि गोठ सरेर नयाँ गोठमा गाईलाई दिदै आएको खान्गी सहित बस्न तयार रहन सुझाए ।
गधाले केहीबेर मलिन अनुहार लगायो अनि भन्यो - हजुर! आजैको सट्टा भोलिबाट गोठ सरे हुन्न र हजुर ?
सरदारजी बोले - तिमीले नै त्यस्तो भन्छौ भने हुन्छ भोलिबाट सर्नू ।
भोलिपल्ट, सरदारजीले गधालाई निकै उदास अनि मलिन अनुहारमा देखेर सोधे - किन अँध्यारो अनुहार लाएको देख्छु, के भयो ?
गधाले घोसे मुण्टो लगाउदै भन्यो - म बाट के गल्ती भयो र हजुर म संग रिसाउनु भएको ?
सरदारजीले कुरा बुझेनन्; अचम्म माने र सोधे - के भनेको तिमीले ? म कहाँ रिसाएको छु र तिमीसंग ?
मैले त तिमीलाई अब नयाँ गोठ, गाईले खाने कुॅडो अनि हरियो घाॅस, पानी सबै तिमीलाई पनि मिलोस् भनेर पो भनेको त ?
तब गधाले भन्यो - तर हजुर ! हजुरले गाईलाई गरेको माया र मलाई गरेको माया मैले सधै नजिकबाट देखिरहेको छु हजुर।
हजुरले गाईलाई दिनमा एकैछिन दूध दूहिने बेलामा मात्र थूनमा औलाले मुसार्नुहुन्छ जब की मलाई दिनमा धेरैपटक हात र दुवै खुट्टाले समेत अगालो मारेर अत्यन्त प्रेमपूर्वक ढाडमा चढेर पूरा शरीर मसाज गरिदिनुहुन्छ । मलाई कसैले केही गर्ला कि भनेर मेरो सुरक्षाको लागि एक हातमा डोरी र अर्को हातमा छडी लिएर आफै दिनभरी दिनभरी मेरो सुरक्षामा खटिनुहुन्छ ।
त्यसरी गाउँमा हिड्दा पुरै गाउॅलेहरूबीच मेरो कति ठूलो इज्जत र शान छ।
अब गोठ फेरिए पछि त्यो इज्जत र शान मान पनि म बाट खोसिनेछ भयो। त्यो अब गाईलाई मिल्ने भयो ।
म हजुरको त्यति धेरै मायाॅ र स्नेहवाट बञ्चित हुनें भएॅ भन्ने पीरले हिजोदेखि मलाई निद्रा नै परेको छैन हजुर।
त्यसैले बिन्ति छ हजुर- यो गोठ सर्ने कुरा नगरिदिनुस्।
सरदारजीले एकछिन गम खाए, अनि बोले - तिम्रो त्यही इच्छ छ भनें ठीकै छ।
म गाईलाई सम्झाउॅला नि त।
गधाले मख्ख परेर गाईतिर हेऱ्यो;
र खुसी हुॅदै मनमनै भन्यो - बल्ल गाईलाई मैले मेरो पावर देखाइदिएॅ। अब बल्ल उसले थाहा पाउने भो - मेरो कुरा मालिकले काट्दै काट्दैनन्; यहाँ मैले जे भन्यो त्यही हुन्छ भनेर।
सरदारजीले पनि मनमनै भनें - हरे दैव! बुवाले सधै भन्ने गर्नुहुन्थ्यो - ‘ गधालाई गाई बनाउने प्रयत्न कहिल्यै नगर्नू, त्यो व्यर्थ छ भनेर’- आखिर हो रहेछ। ‘
चिरञ्जीवी पौडेल
२०८१, श्रावण
वुटवल।