Sunday, March 29, 2020

मान्छे र देश

सामान्यतः हामीलाई लाग्छ कि - महामारीबाट नागरिक मर्छ, आप्रवासी मर्छ, शरणार्थी मर्छ, तर राष्ट्र भनें मर्दैन।

तर कठीन अवस्थामा जुन मुलुकले विवेक पुर्‍याउन सक्दैन त्यहाँ चाॅही राष्ट्र पनि मर्दछ। जब नागरिकले अत्यधिक निराश भई आफ्नो मुलुकको नागरिकतामा भन्दा शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्च आयोग (UNHCR ) को शरणार्थी परिचयपत्रमा आफू बढी सुरक्षित हुने अनुमान गर्न थाल्छ ।
त्यही नै कुनैपनि देश मरेको प्रमाण हो।

अहिले संसारका धेरै मुलुकहरूलाई आफ्ना नागरिकहरूमा आशा जिवित राखेर महामारीसंग लड्ने चुनौती आईलागेको छ । आउनुहोस् हामी पनि सबै मिलेर महामारीको सामना गरौं। अप्ठ्यारोमा परेकालाई सहयोग गरौं। नागरिकका आशा जिवित राखौं। देशलाई मर्न नदिऊॅ ।

चैत्र १६,२०७६
लकडाउनको छैठौं दिन
वुटवल |

खै विशेषको विशेषता ?

हे आफूलाई धनवान, वलवान, शक्तिशाली, पहुॅचवाला, चलाख, साहु, महाजन, कुलीन र विशेष ठान्नेहरू हो -

सक्छौ भनें ज्वरोले थलिएर अन्तिम सास लिंदै गरेको तिम्रै प्रियजनलाई सान्त्वना दिन उसको गालामा हातले सुम्सूम्याएर त हेर ।

यो संभव छैन भनें तिम्रो धन, बल, छल, पावर र पहुँच लगाएर यसलाई संभव बनाऊ ।

त्यो पनि संभव छैन भनें ती सवै काम नलाग्ने चिजहरूका आधारमा आफूलाई अरू भन्दा उच्च र विशेष ठान्न छाडिदेऊ ।

चैत्र १४, २०७६
वुटवल
(कोरोना भाईरस महामारीको कारण देश ठप्प भएको चोथो दिन)

भाउजुको अंग्रेजी मोह र दाईको तनाव

बिहान ११:३१ मा फेसबुक हेरें।
एकजना भाउजुले १५ मिनेट अगाडि आफ्नो एउटा ताजा भनाई अंग्रेजीमा राख्नुभएको रहेछ। हेरें
तर लाईक र कमेन्ट केही गरिन किनकी त्यो राम्ररी बुझिन र कताकता मलाई त्यस्तो पोष्ट नराख्नु भएको भएपनि हुन्थ्यो यसले कसैको चित्त दुख्न पनि सक्छ भन्ने जस्तो पनि लाग्यो। फेरि अर्कोतिर अहिले कोरोनाको चर्चा चुलिएको बेला हँसाउन खोज्नुभएको होला जस्तो पनि लाग्यो।
११:३३ मा मैले वहाँलाई मेसेन्जरमा लेखें- भाउजु खाना खानुभयो अनि दाई खै त ?
जवाफ: खाईम वावु । दाई त लकडाउन हेर्न चोकतिर जानुभाछ।
म: बाहिर त नजानुपर्ने
जवाफ: खै बावु । मैले भाॅडा माझ्न थालें वहां हिँड्नुभएछ ।
म: मैले भाउजुको फेसबुकको लेखाई हेरें। तर त्यति बुझिन।
जवाफ: त्यत्तिकै ठट्टा गरेको नि बावु।
(ठट्टा भनें पछि मैले अरू भन्न आवश्यक ठानिन)
म: हस् दाइलाई घरै वस्न भन्नुहोला।
जवाफ:OK.

करीव १ घण्टापछि भाउजुको फोन आयो :
म: हजुर भाउजु ।
भाउजु: मैले फेसबुकमा लेखेको कुराले दाई रिसाएर बम्किनु भयो वसिखानु छैन।
म: अनि दादाले के भन्नु भो त?
जवाफ: केही भन्नु भएन। त्यो फेसवुकवाट हटाइहाल भन्नुभयो। अनि रिसाउँदै छततिर जानु भा छ।
म: अनि हटाउन भो त?
- अॅह । हटाकी छैन। के नमिलेको हो बुझेर मात्रै हटाम्ला भनेर।
म: हजुरले के लेख्न खोज्नु भा थ्यो भन्नू त।
- मैले त कोरोना ले वुढावूढीलाई बढी असर गर्छ रे भनेर जेष्ठ नागरिकहरू सचेत रहनुहोला भनेको त हो नि। त्यति लेख्दा के विग्रन्छन् र ?
(मैले पनि बल्ल वहांले लेख्न खोजेको कुरा बुझे)
म: ए हो र। त्यसो भए अहिले तपाईले भन्न खोजेको जस्तो अलि मिलेको छैन हटाउनू। अनि कि नेपालीमा लेख्नू। कि दाजुसँग सिकेर लेख्नू होला नि त रिसाउनुपर्ने के छ र ।
भाउजु: अनि तपाईले अघि हेर्दा नै मिलेन भन्दिन पर्दैन त?
म: अनि तपाईले ठट्टा गरेको भन्नु भो अनि मैले त पत्याएं।
- तपाईँले लाईक र कमेन्ट केही नगरेको देखेर मलाई कस्तो कस्तो त लाग्या थ्यो। हस म हटाउॅछु।
म: हस् ।

वहांले लेख्न खोज्नुभएको रहेछ -
Be Careful Senior Citizens.
लेखिएछ-
Be Ware of Senior Citizens.

प्लाष्टिक फूलको सुगन्ध


भाग्य चम्काउने पल मिलोस्,
ढाॅटछल गर्ने बल मिलोस् |
मालिक नभए दास नै/कमारै सही,
आड दिनें एउटा दल मिलोस् ||

हिसाब विनाको चन्दा मिलोस्
फन्दा विनाको धन्दा मिलोस् |
नाइके नभए ढोके नै सही,
गुटको एउटा अखडा मिलोस् ||

कपटको मतिसंगै, जुलुमको हात मिलोस्
गद्दि अनि गाथ मिलोस् ¦
मूलनाईकेको साथ मिलोस्,
खतवात सबमा माफ मिलोस् ||

माफियाको दान मिलोस्
प्लाष्टिकफूलको मान मिलोस् |
महलको बास मिलोस्, पराईको गास मिलोस्,
वेलुनको वैभव मिलोस्, सुराको शान मिलोस् ||

तामसीको लत मिलोस्, सुन्दरीको मत मिलोस्
तनलाई सधै चैन मिलोस्, मनलाई अझै वेग मिलोस् |
विगतको विस्मृति मिलोस्, आगतको आशक्ती मिलोस्,
नशा उत्रिदा अहंकारको, आफ्नै कर्मको फल मिलोस् ||

-चिरञ्जिवी पौडेल
चैत्र सङ्क्रान्ति, २०७६

पोशाक एक: दृष्टि अनेक


कसैले लगाए - फेशन
कसैले लगाए - युनिफर्म
कसैले लगाए - कला
कसैले लगाए - उत्ताउलो
कसैले लगाए - छाडा
कसैले लगाए - गरीबी ।