एक्लै आयो नाङ्गै आयो, नाङ्गै गयो एक्लै
धनी गरीव ठूलो सानो, छैन बाटो बेग्लै ।
शक्तिशाली कोही छैन, मिति पुगेपछि
जीवन भन्नू भ्रम मात्रै, रीति बुझेपछि ।।
रित्तो हात तिमी गयौ, सबले देखे आज
देह विलीन क्षणभरमै, बगरको माझ ।
अजम्वरी कोही छैन, जानुपर्छ सब
वाँचुञ्जेलको तिम्रो कर्म, सम्झिने हो अब ।।
सन्तान र आफन्तले, आफ्नै मनलाई सोध
सेवा गर्यौ बाँचुञ्जेल, या सम्झियौ बोझ ।
जे भए नि पश्चाताप, नगर्नू है अहिले
कर्तव्यलाई छुट्न नदेऊ, बाँचेकालाई अहिले ।।
उमेरको लम्बाई नाप्नु, उसकै हातको खेल
कसको लामो कसको छोटो, कसको कतिखेर ।
नगर्नू है शोक पीर, उसले आँटेपछि
अमर आत्मा शान्त रहोस्, नेटो काटेपछि ।।
२०७६ कार्तिक २९
वुटवल ।