Thursday, February 13, 2025

वाह ! यस्तो पो खेल


घर होस् वा चौवाटो

वस् एउटा थोत्रो स्ट्याण्ड माथि वोर्ड

घुना (स्ट्राइकर) , क्वीन र गोटीहरू 

सद्धे वोर्ड त कामै नलाग्ने

चारतिर प्वाल परेकै हुनुपर्ने

एउटा मात्र मुखले कति खानु

चारै दिशामा मुख हुनैपर्ने

वाह! यस्तो पो खेल। 


खान र ख्वाउन जानेकै भरमा खेलाडी हुने

सोझै खाएपनि हुनें

बाङ्गोटिङ्गो रिटर्न घुमाएर खाएपनि हुनें

घुनाले ठोकेर खाएपनि हुनें

गोटी गोटी ठोक्काएर खाएपनि हुनें

वरिपरि रिंगाएर खाएपनि हुनें

एकले अर्कालाई उछिट्याएर खाए नि हुनें

जसरी खाए नि, न विचौलिया भईनें

न घुस्याहा भईने, न भ्रष्टाचारी भईने

औंला चलाएकै भरमा, महान् खेलाडी भईने

वाह! यस्तो पो खेल। 


चारैदिशामा रहेका जुन मुखले खाएपनि हुनें

खाएपछि मुखमा अड्के पनि हुनें

भुईंमै खसेपनि हुनें

खाए वापत न उजूरी नै लाग्ने

न कुनै सोधखोज हुनें

न अनुसन्धान हुनें

न अभियोजन हुनें

न कुनै खतवात लाग्ने

न नैतिक पतन देखिने

जसरी पनि

खाएपछि खाएको खायै हुनें

वाह!  यस्तो पो खेल । 


पाए खाए हुनें,

नपाए अरूको विगारे पनि हुनें

सोझै नसके छिर्के हानेपनि हुनें

केही नलागे अरूको बाटो छेके पनि हुनें

आफूले नसके अरू बोलाए पनि हुनें

सानोले केही नलागे ठूलो गोटी उभ्याए पनि हुनें

कालो र सेतोले मात्रै नमिले रातै अगाडि सारेपनि हुनें

जोड जोडले ठोकेर आफ्नो अगाडि पारेपनि हुनें

जे गरे नि, न दलाल भइनें

न ठग भइने

बरू गोटी चालेकै भरमा महान् खेलाडी भईने 

वाह ! यस्तो पो खेल। 


अरूको खानें मुखलाई छेक्न पनि मिल्ने

मिलेर खाने बाटो खोल्न पनि मिल्ने

मिलौं, मिलाऔं र खाऔं भन्न पनि मिल्ने

अर्कोलाई खुशी पार्न पनि मिल्नें

अप्ठ्यारो पार्न पनि मिल्ने

दायाॅ र वायाॅ दुवै हात चलाउन नि  मिल्ने

जुनसुकै औंलाको कमाल देखाउन नि मिल्ने

घुना होस् वा क्वीन

काला होऊन वा सेता गोटीहरू

ठूला होऊन वा साना

सबैलाई आफ्नै तालमा नचाउन पनि मिल्ने

जे गरे नि, न त विचौलिया भइने

न त झोले नै भइने

गोटी चालेकै भरमा,  महान् खेलाडी भईने 

वाह ! यस्तो पो खेल। 


पाउडर हालेर गोटी सरर्र कुदाउन पनि मिल्ने

पीठो छर्केर कच्ची बाटोको ट्रेक्टर झै पार्न नि मिल्ने 

केही नहाली दाम विनाको काम झैं घिसार्न पनि मिल्ने

केही हाल्ने कि नहाल्ने

पाउडर हाल्ने कि घिसार्ने

सबै सधैं आफ्नै हातमा रहनें

हातको कमाल जति नै गरेपनि

न कामचोर भइने

न विचौलिया भइने

गोटी चालेकै भरमा महान् खेलाडी भईने 

वाह ! यस्तो पो खेल |

वाह ! यस्तो पो खेल  ||


  • चिरञ्जिवी पौडेल 

२०८१, फागुन 













Tuesday, August 6, 2024

लघुकथा

 

सरदारजीको गधा 

सरदारजी गाउॅभरीकै सज्जन व्यक्ति थिए ।

उनका दुईवटा गोठहरू थिए। एउटा छानो चुहिने पुरानो  र एउटा सुविधा सम्पन्न नयाँ गोठ ।

नयाँ गोठमा गाईलाई राखेका थिए भनें पुरानोमा गधालाई । उनी सधै गाउॅ तिर निस्कॅदा गधा चढेर जाने गर्थे ।

घरमा फर्के पछि दाना, पानी, हरियो घाॅस सहितको गाईको स्याहार सुसार आफैले गर्थे। गाईले खाएर बाॅकी रहेको जति आफैंले गधातर्फ सारिदिन्थे र उसलाई थप पराल पनि आफैले राखिदिन्थे।

एकदिन सरदारजीले सोंचे - खानपान र स्याहार सुसारमा गाईलाई भन्दा गधालाई अलि कम भएको छ।  

अनि गोठ पनि अलि पानी चुहिने खालको नराम्रो छ। उसलाई अन्याय भएको छ।

त्यसैले उनले शुरूमा गाईलाई भनें - अब केही समय तिमी पुरानो गोठमा बस। त्यतिन्जेल गधाले पाएकै जस्तो खान्गी र सुविधा पाउने छौ। यो नयाँ गोठमा गधा बस्नेछ र उसले तिम्रै जस्तो खानपान र सुविधा पाउनेछ।

गाईले एकछिन सोच्यो र भन्यो - हजुरको त्यही इच्छा छ भनें मेरो कुनै गुनासो छैन म पुरानो गोठमा आजैदेखि बस्छु । म खुशी छु।

सरदारजीले यहीं कुरा गधालाई पनि भनें र आजै साँझदेखि गोठ सरेर नयाँ गोठमा गाईलाई दिदै आएको  खान्गी सहित बस्न तयार रहन सुझाए ।

 गधाले केहीबेर मलिन अनुहार लगायो अनि भन्यो - हजुर! आजैको सट्टा भोलिबाट गोठ सरे हुन्न र हजुर ?

सरदारजी बोले - तिमीले नै त्यस्तो भन्छौ भने हुन्छ भोलिबाट सर्नू ।

भोलिपल्ट, सरदारजीले गधालाई निकै उदास अनि मलिन अनुहारमा  देखेर सोधे - किन अँध्यारो अनुहार लाएको देख्छु, के भयो ?

गधाले घोसे मुण्टो लगाउदै भन्यो -  म बाट के गल्ती भयो र हजुर म संग रिसाउनु भएको ?

सरदारजीले कुरा बुझेनन्; अचम्म माने र सोधे - के भनेको तिमीले ? म कहाँ रिसाएको छु र तिमीसंग ?  

मैले त तिमीलाई अब नयाँ गोठ, गाईले खाने कुॅडो अनि हरियो घाॅस, पानी सबै तिमीलाई पनि मिलोस् भनेर पो भनेको त ?

तब गधाले भन्यो - तर हजुर ! हजुरले गाईलाई गरेको माया  र मलाई गरेको माया मैले सधै नजिकबाट देखिरहेको छु हजुर।

हजुरले गाईलाई दिनमा एकैछिन दूध दूहिने बेलामा मात्र थूनमा औलाले मुसार्नुहुन्छ जब की मलाई दिनमा धेरैपटक हात र दुवै खुट्टाले समेत अगालो मारेर अत्यन्त प्रेमपूर्वक ढाडमा चढेर पूरा शरीर मसाज गरिदिनुहुन्छ । मलाई कसैले केही गर्ला कि भनेर मेरो सुरक्षाको लागि एक हातमा डोरी र अर्को हातमा छडी लिएर आफै दिनभरी दिनभरी मेरो सुरक्षामा खटिनुहुन्छ ।

त्यसरी गाउँमा हिड्दा पुरै गाउॅलेहरूबीच मेरो कति ठूलो इज्जत र शान छ।

अब गोठ फेरिए पछि त्यो इज्जत र शान मान पनि म बाट खोसिनेछ भयो। त्यो अब गाईलाई मिल्ने भयो ।  

म हजुरको त्यति धेरै मायाॅ र स्नेहवाट बञ्चित हुनें भएॅ भन्ने पीरले हिजोदेखि मलाई निद्रा नै परेको छैन हजुर।

त्यसैले बिन्ति छ हजुर- यो गोठ सर्ने कुरा नगरिदिनुस्।

सरदारजीले एकछिन गम खाए, अनि बोले - तिम्रो त्यही इच्छ छ भनें ठीकै छ।

म गाईलाई सम्झाउॅला नि त।

गधाले मख्ख परेर गाईतिर हेऱ्यो;

  र खुसी हुॅदै मनमनै भन्यो - बल्ल गाईलाई मैले मेरो पावर देखाइदिएॅ। अब बल्ल उसले थाहा पाउने भो - मेरो कुरा मालिकले काट्दै काट्दैनन्; यहाँ मैले जे भन्यो त्यही हुन्छ भनेर।

सरदारजीले पनि मनमनै भनें - हरे दैव! बुवाले  सधै भन्ने गर्नुहुन्थ्यो - ‘ गधालाई गाई बनाउने प्रयत्‍न कहिल्यै नगर्नू, त्यो व्यर्थ छ  भनेर’- आखिर हो रहेछ। ‘

चिरञ्जीवी पौडेल 

२०८१, श्रावण

वुटवल। 

Thursday, February 10, 2022

सत्यको सधै जित हुन्न

 

सत्यको सधै जित हुन्न  
जित्ने सधैं सत्य हुन्न
विजयीको अपराध लेखिन्न
पराजितको गुण गाईन्न
शक्तिको खोंट देखाईन्न
हार्नेको इतिहास लेखिन्न
सत्य सधै बोलिन्न
सत्य सधै लेखिन्न ||

सत्यको सधै जित हुन्न
जित्ने सधैं सत्य हुन्न
प्रेमी दोषी देखिन्न
प्रेमीका कुरूप देखिन्न
धोका रूपी पल देखिन्न
प्रेम रूपी छल देखिन्न
प्रेम सधैं अमर हुन्न
विश्वास सधै अटल हुन्न
सत्य सधै बोलिन्न
सत्य सधै  लेखिन्न ||

सत्यको सधै जित हुन्न
जित्ने सधैं सत्य हुन्न
मरेको,
नामी बदमासलाई,
मरेपछि बदमास भनिन्न
भ्रष्टलाई भ्रष्टाचारी भनिन्न
पीडकलाई दूराचारी भनिन्न
अभिमानीलाई अहंकारी भनिन्न
ईमान रित्तिदा नि बेइमान भनिन्न
ठगीका नाइकेलाई ठग भनिन्न
सत्य सधै देखाईन्न
सत्य सधै रूचाईन्न ||

सत्यको सधै जित हुन्न
जित्ने सधैं सत्य हुन्न
मरेको,
नामी घातीलाई, देशद्रोही भनिन्न
अतिवादका पूजारी लाई अत्याचारी भनिन्न
खोक्रो कवचधारीलाई ढोंगी भनिन्न
नमकहरामलाई विश्वासघाती भनिन्न
तिकडमवाजलाई फटाहा भनिन्न
छल सम्राटलाई कपटी भनिन्न
सत्यको सधै जित हुन्न
जित्ने सधैं सत्य हुन्न
सत्यको सधै जित हुन्न
सत्यको सधै जित हुन्न ||

|| अस्तु ||

- चिरञ्जिवी पौडेल 
वुटवल 
श्रीपञ्चमी २०७८


Monday, January 10, 2022

हाई हाई स्मार्ट मोवाईल जिन्दगी



हो होइन थाहा छैन चौरासी जुनी हुन्छ रे ||
अर्को जुनी मिल्छ रे।
अनि मुक्ति मिल्छ रे।
त्यो पनि झुठ होला अब त ||
किनकी! मेरो जन्म अघि पो भनेको त त्यो ।
मेरो एक जुनी थप्नुपर्छ अब त ।
पचासी जुनी पार्नुपर्छ  अब त ||

मान्छे सृष्टिकै बुद्धिमान रे ||
सबैले मलाई सेबक ठान्छन्।
म भने सहमत छैन।
म तिनलाई सेवक ठान्छु।
मैले विछ्याएको जाल तिनले सुविधा सम्झन्छन्।
मैले देखाउने छायाँमा मन्त्रमुग्ध हुन्छन्।
अनि मलाई माया, माया र माया गरिरहन्छन् ।
त्यसैले त मलाई मुसारिरहन्छन्  ||
सुम्सुम्याईरहन्छन् ।
हरेक पल हरेक पल ||

प्रेमी-प्रेमीकाहरू बाचा गर्छन्  ||
जुनी जुनीसम्म साथ दिने रे एक अर्कालाई ।
प्रेमिल जोडीका सुकोमल हातहरू आजकल,
एक अर्कोलाई मुसार्न छोडेर,
घण्टौं मलाई सुम्सुम्याईरहन्छन् ||

छायाँ  त आफैंमा कालो, मधुरो र अँध्यारो हुन्छ ||
छायाँ भनेकै अँध्यारो बुझेको मान्छेलाई  ||
मैले छायाँको परिभाषा नै विगारिदिएको पत्तै छैन,
छायाँ मधुरो मात्रै हुॅदैन,
नपत्याए मैले देखाउने छायाँ हेर,
त्यो त झन बढी चम्किलो र उज्यालो पो छ त ।
यही चम्किलो छायाॅको प्रभावमा
म संसारमा एकछत्र राज गर्दैछु।
विचरा वुद्धिमान मान्छे यसको भेऊ नै पाउदैन ||

मेरो पहुॅच कहाॅ छैन ??
तिनका गोप्य कक्षहरूमा।
धन दौलतका बाकसहरूमा।
खाता र वहुमूल्य लकरहरूमा।
प्रियतमाको श्रृङ्गारका टेवलहरूमा  ।
डेटिङ्ग र पिकनिक स्पटहरूमा।
खल्ती, पर्स र व्यागहरूमा ।
यात्रामा, समूहमा या एक्लोपनमा  ||
विश्वास र विश्वासघातहरूमा ।
मिलन या विछोडमा।
जहाँ तहीं मलाई उत्तिकै माया र प्रेमका साथ मुसारिरहन्छन्।
अनि म निद्राले लठ्ठिएका तिनका आंखाहरू पढिरहन्छु पढिरहन्छु  ||

मेरा अनुभवहरू बिचित्रका छन्  ||
शायद अरू कसैसंग न हिंजो थिए इतिहासमा ।
न भोलि होलान् भविष्यमा ।
नवयौवना जोडीको साथी वनेको छु म।
कैयौं रात तिनीहरूको वीचमै सिरकको न्यानो भित्र विताएको छु मैले ।
दुवैलाई पिठ्यू फर्केर झण्डै सिंगै रात मलाई मुसार्दै ।
विहानीपखसम्म बसेको अनुभव छ म संग।
दुवै प्रेमीका हातहरूको साझा स्पर्श भोगेको छु मैले।
यहाॅ बसेर सात समुद्र पारिका जोडीहरूलाई बेचैन बनाएको छु मैले।
मलाई मुसार्ने अनन्त भोक जगाएकै छु मैले  ||

मेरो लोभलाग्दो जिन्दगीसंग लोभिएर ||
केहीले भन्दैछन्,
वाह ! जिन्दगी होस त यस्तो स्मार्ट।
म यति भाग्यमानी छु ।
मैले दोषको जिम्मेवारी लिनै पर्दैन।
घर उजाडियोस् कसैको वा ।
जिन्दगीको लय नै विग्रियोस् ।
मैले त्यसको जिम्मा लिनै पर्दैन ।
वस, पुलिस चौकी पुगेर एकपटक ।
साॅचो बकपत्र गरिदिए पुग्छ ।
मुद्दा चल्दैन मलाई ।
किनकी आफूलाई बुद्धिमान ठान्ने मान्छेले ।
मलाई मुद्धा चलाउने गरी कानून बनाउन जानेकै छैन  ||

छोराछोरी बरालिऊन् या तिम्रो सम्बन्धै ध्वस्त होस्,
या पर तिमी झन पीडामा  ||
त्यसको जिम्मा मैले लिनै पर्दैन ।
अरु त अरु मैले त मेरै जीवनको सुरक्षा समेत आफै गर्नुपर्दैन।
सृष्टिको बुद्धिमान प्राणी मान्छे।
मेरो सुरक्षामा हरदम तैनाथ छ ।
मेरो सेवक बनेर ।
विहान सबेरै उठेर उसले पानी खानु अघि ।
म भोकाएको छु कि भन्दै ऊ ख्याल राख्छ ।
किनकी ऊ अब सोंच्न पनि सक्दैन,
कि म विना उसको दिन चल्छ भनेर।
म विना उसको दिन ढल्छ भनेर, 
उसको जिन्दगी स्मार्ट बन्छ भनेर  |
उसको जिन्दगी स्मार्ट बन्छ भनेर  ||

||धन्यवाद||

                                                                      - चिरञ्जिवी पौडेल 
                                                                            २०७८ पुस












Monday, August 17, 2020

गृहस्थीका लागि व्यवहारिक शिक्षा

 पृष्ठभूमि


बुद्धको शिक्षा सार्वभौम छ । अभ्यास गर्न सकेमा गृहस्थहरूका लागि त यो सञ्जीवनी नै हो । त्यसबेला मगधमा चालीस करोडका मालिक कुनै गृहपति थिए । उनको छोराको नाम सिगाल थियो। अभिमान/घमण्डका कारण बुद्धको शरणमा जान रोकिएको थियो सिगाल । उसलाई उसका पिताले मर्नुअघि हरेक विहान गङ्गामा स्नान गरेर ६ वटा दिशालाई नमस्कार गर्न आग्रह गरे । पिताको यस्तो अन्तिम आग्रहलाई मान्न सिगाल तयार भयो । गङ्गामा नुहाएर दिशाहरूलाई नमस्कार गरिरहेको बेलामा बुद्ध र सिगालको भेट हुन्छ। त्यहाॅ बुद्धले गृहस्थहरूका लागि अति महत्वपूर्ण उपदेश दिनुभएको पाइन्छ । यिनै उपदेशहरूलाई गृही विनय भनिन्छ।

त्याग्नुपर्ने चौध पापकर्महरू:

१. चारवटा कर्मक्लेश

• प्राणीहत्या
• चोरी,
• असत्य भाषण र
• व्यभिचार

२. चार प्रकारका पाप

• रागका कारण गरिने पाप
• द्वेषको कारण गरिने पाप
• मोहका कारण गरिने पाप र
• भय/डर का कारण गरिने पाप

३. सम्पत्ति नाश हुने ६ वटा कारण

• सुरापान
• असमयको भ्रमण
• मेलामहोत्सव/रमझम
• जुवातास
• कुमित्र (खराव मित्र) को संगत र
• आलस्य (अल्छीपन)

सुरापानका बेफाइदा :
• सम्पत्तिको नाश
• परिवारमा कलह
• रोगग्रस्त जीवन
• मानसम्मान गुम्नु
• लाज र शालीनतामा कमी
• मानसिक समस्या

असमयको भ्रमणका बेफाइदा:

• आफू असुरक्षित हुनें
• परिवार असुरक्षित हुनें
• धन असुरक्षित हुनें
• खराब कामको भागीदार भईने संभावना
• अपराधको झुठो आरोप आईलाग्न सक्नें
• अन्य संकट आईपर्ने संभावना

मेलामहोत्सव/रमझममा सहभागी हुॅदा का बेफाइदा:

• नाच, सिनेमा, गीत, कन्सर्ट आदिको कुलत बस्न सक्नें
• रमाइलोका कारण मन अस्थिर हुनें
• गैर सांस्कृतिक संगीतमा रूचि बढ्नें
• जादू, झाॅक्री र नाटक हेर्ने लत बस्नें
• मेलामहोत्सव कहिले आउला भन्ने मनमा आतुरता बढ्नें
• बाजा बजेको सुनिहालेमा घरको काम नै छोडेर जान मन लाग्नें

जुवातासका बेफाइदा:

• शत्रुताको भावना बढ्नें
• पश्चाताप हुनें
• धनको नाश हुनें
• ईज्जतमा दाग लाग्नें
• आफन्त तथा समाजका व्यक्तिले विश्वास नगर्ने
• छोराछोरीको भविष्य धरापमा पर्नें

कुमित्रको संगतका बेफाइदा:

• धूर्त बनिन्छ
• मद्यपानमा फसिन्छ
• दुर्व्यसनी बनिन्छ
• कृतघ्न बनिन्छ
• ठग बनिन्छ
• गुण्डागर्दीमा संलग्न भईन्छ।

अल्छी हुनुका बेफाइदा:

• जाडोको बहानामा काम नहुने
• गर्मीको बहानामा काम नहुने
• साॅझको बहानामा काम नहुने
• बिहानै छ भनी काम नहुने
• भोकको बहानामा काम नहुने
• सार्है खाइयो भन्ने बहानामा काम नहुने।

कस्ता मित्रलाई कुमित्र भनिन्छ?

• लिन जान्ने दिन नजान्ने
• बोलीले ठीक्क व्यवहारले दिक्क पार्ने
• मुखमा राम राम बगलीमा छुरा भएको
• सम्पत्ति उडाउनेछ मित्र

लिन जान्ने दिन नजान्ने मित्र:

• अरूको चोरेरै भएपनि लिनें
• थोरै दिएर धेरै आशा गर्नें
• आपतकालको बहाना बनाएर माग्ने
• पैसाको लागि मात्र साथी बन्ने

बोलीले ठीक्क व्यवहारले दिक्क पार्ने मित्र:

• केही माग्दा अघि भर्खर सम्म थियो अरूलाई दिईसकें भनी ठीक्क पार्नें
• केही माग्दा भोलि यस्तो गर्दैछु त्यसैले साॅचेर राखेको भनी ठीक्क पार्नें
• देखावटी सम्मान देखाउने
• आफूसंगै भएको अरूलाई चाहेको कुरा काम नलाग्ने गरी बिग्रिसकेको बहाना गर्ने

मुखमा राम राम बगलीमा छुरा भएको मित्र:

• खराब काम गर्न उक्साउनें
• अगाडि प्रशंसा गर्ने
• पछाडि निन्दा गर्ने।

सम्पत्ति उडाउने मित्र:

• मद्यपानमा साथ दिनें
• कुसमयमा चोक र गल्ली घुम्न जोड गर्नें
• एउटै काममा गहिरिएर लामो समयसम्म लागिरहन बाधा पुर्याउने
• मनोरञ्जनका लागि मात्र साथी बन्ने
• जुवातासका आदि दुषकृत्यमा साथ दिनें ।




- बुद्ध दर्शन
सरल अध्ययन। 























Saturday, May 30, 2020

देवाली पूजास्थलमा मन्दिर किन हुॅदैन ?

                                 

                                                               - चिरञ्जिवी पौडेल 

'देवाली' पूजा हामी सवैले आ-आफ्नो परम्परा अनुसार गर्दै आएका छौं। यसलाई 'कुलपूजा' पनि भनिन्छ। यो हरेक जातजातिहरूमा आ-आफ्नो रीति र परम्परा अनुसार गर्ने चलन रहेपनि यसभित्र रहेका कतिपय कुराहरू हामीले बुझेर अबलम्बन गरेका हुॅदैनौं। बुझ्नु भन्दापनि हामी बाजेको सिको छोरा, नाती र पनातिहरूले गरिआएका छौं।

त्यस्तै एउटा चलन अधिकांश बाहुन क्षेत्रीहरूको देवाली पूजामा देख्न सकिन्छ। उनीहरूको देवाली पूजा गर्ने ठाउँलाई 'गौरो' भनिन्छ । तर गौरोमा न कुनै खास देबताको मूर्ति वा स्वरूप हुन्छ न त कुनै मन्दिर नै ।
 आखिर यस्तो किन हुन्छ ?

हामी धेरैले यसरी सोंचेकै हुॅदैनौं।
किन त ?

यसरी नसोच्नुका धेरै कारण छन् -
एउटा कारण हो- परम्परादेखि पूर्वजहरूले गर्दै आएको कुरामा प्रश्न र जिज्ञासा राख्न हामीलाई सिकाईएकै हुॅदैन। त्यस्तै अर्को कारण यो पनि हो कि - त्यसरी प्रश्न र आलोचनात्मक जिज्ञासा राख्न हामी डराउॅछौं पनि।

हामीमा यस्तो डर खासगरी तीन किसिमको हुन्छ:
पहिलो - सोधीखोजी गर्दा मेरो कुलका अरू मान्छेले नराम्रो मान्ने हुन् कि भन्ने डर ?
 दोस्रो - मलाई मात्रै थाहा नभएको होला अरुलाई त थाहा होला, यति सामान्य कुरा पनि अहिलेसम्म थाहा नपाएको भनेर लाज पो हुनें हो कि भन्ने डर ?
 र तेस्रो बुझ्न खोज्दा कतै बन्धुहरूबीच 'कुलद्रोही' पो भईने हो कि भन्ने डर ?
यिनै र यस्तै यस्तै डरहरूका कारण हामी कुनै कुरा बुझ्ने प्रयत्‍न नै गर्दैनौ । जसका कारण हामी जीवनभर अबुझ भएरै वस्छौं।

जब हामीभन्दा अगाडिका वितेर जान्छन् र हामी पुरानो पुस्ता बन्दछौं, त्यतिवेला हामीभन्दा नयाँ पुस्तालाई दिने जवाफ हामीसंंग हुॅदैन र त्यति बेला भन्नुपर्ने हुन्छ -
खै बाबु, बा ले बाॅसको झ्याङ्गमुनी बोका काटेको देखेको हो, के गरेको बा भन्दा कुलपूजा भन्थे, अरू थाहा भएन। अनि बोका त काट्नु भएछ कुन देवताको पूजा गर्नु भो त? - खै त्यो पनि थाहा छैन।
यस्तै यस्तै बन्न पुग्छौं।

तपाईँ अहिलेसम्म आफ्ना कतिवटा देवाली/कुलपूजामा सहभागी हुनुभयो ? के तपाईले कहिल्यै सोध्नुभयो - हरेक देवस्थलमा मन्दिर हुन्छ तर देवाली गर्ने गौरोमा किन मन्दिर हुॅदैन भनेर ?

यसको जवाफका लागि हाम्रा पुर्खाहरूको प्राचीन जीवनतर्फ जानुपर्ने हुन्छ।
हाम्रा पुर्खाले खासगरी वेद लेखिनु भन्दा अगाडि नै आफ्ना इष्ट देवताको पूजा गर्ने गर्थे। त्यति बेला उनीहरूले 'मष्ट देवता' को पूजा गर्ने गर्थे। मष्ट देवता वैदिक सभ्यता (वेदमा उल्लेख भए बमोजिमका धेरै देवता र रीतिथिति) भन्दा अगाडिका हुन्। तर यी देवतालाई वेद र पुराणहरूले ग्रहण गरेका छैनन्। अरू देवताहरू जो मन्दिर र मूर्ति वनाएर पुजिन्छन्, तिनीहरूको पूजा गर्ने चलन हाम्रा पुर्खाहरूले वैदिक सभ्यतालाई अपनाउदै जाने क्रममा अरूहरूबाट सिकेका हुन। ती सिकाउनेहरू मष्ट देवताको पूजा नगर्ने तर हिन्दुहरू नै थिए।

मष्ट देवताका अनेक नामहरू छन्। यिनी डुलिहिंड्ने (एकै ठाउँमा नबस्ने) वायु देवताको रूपमा पनि मानिन्छन्। त्यसैले यिनलाई मन्दिरमा वस्न मन नपराउने देवता हुॅदा देवाली पूजामा मष्ट देवतालाई पूजा गर्नेहरूले मन्दिर नबनाउने गरेको विश्वास गरिन्छ। कुनै ठाउँमा गौरोलाई पर्खालले घेरिए पनि छानो भनें हाल्दैनन्। यो नै हाम्रो प्राचीन संस्कृति हो, जुन वेद भन्दा पनि पुरानो संस्कृति हो।

यस अर्थमा अरु देवी देवताहरूको पूजाका लागि मन्दिर वनाईए पनि खासगरी देवाली पूजाका लागि मन्दिर वनाउनु भनेको जानेर वा नजानेर हामीले हाम्रो मौलिक संस्कृतिलाई छोड्नु वा विर्सनु हो।
 समय अनुसार हरेक कुरा परिवर्तन गर्नुपर्छ भन्ने तर्क यस्तो कुरामा राम्रो मान्न सकिँदैन। किनकी कुल पूजाको महत्व कुलको मौलिकताको सकेसम्म संरक्षण गर्नु मा नै हुन्छ, मौलिकता नष्ट गर्नु मा होइन। यसले हाम्रा पुर्खाहरू प्रकृति पूजक नै हुन् भन्ने देखाउँछ।

मष्ट देवताको पूजा गर्ने ठाउॅमा पूजा गर्ने मुख्य मान्छेलाई पूजारी होइन धामी भनिन्छ। यी देवता एकै ठाउँमा नबस्ने भएकोले पूजा गर्नुपर्दा यिनलाई वोलाएपछि मात्रै आउॅछन्। यो बोलाउने विधि हुन्छ, जसलाई बोलाउॅदा धामीले मष्ट देवताका पिता शिव, वर्षाका देवता इन्द्र, मष्ट देवताकी वहिनी भवानी, शक्तिदेवीहरू, नजिकका नरदेवता, सिमेहरू र भुमेहरू, देवाली पूजा गर्नेहरुका पुर्खाहरू लगायतका सवैको सम्झना गरेर ती सबैको सहयोग माग्छन्। यसरी स्मरण गरेर सहयोग लिंदा शरीरमा कम्पन आउने (काम्ने) पनि हुन्छ। सहयोग चाॅही सबैले सुन्ने गरी माग्नुपर्ने चलन छ। यतिवेला धामीले बोल्ने भाषालाई 'पतुर्ने' पनि भन्दछन् । जुन भाषा सवैले नवुझ्न पनि सक्छन्।

मष्ट देवताको थानलाई 'माडौ' भनिन्छ । त्यसमा छानो हुॅदैन, मूर्ति हुॅदैन। ढुङ्गो थापेर अथवा खोपामै पूजा गरिन्छ। त्यहाॅ फलामको त्रिशुल सहितको लिंगो गाडिएको हुन्छ, त्यसलाई 'आलम' भनिन्छ, त्यसमा कपडाका ध्वजा पताका बाँधिन्छ। त्यसको मूल भागमा ओडार आकारको गर्भगृह बनाइन्छ, जसलाई 'गब्युर' भन्दछन्। गौराभित्र र वरपर ढुङ्गा, काठ, तामा, पित्तल, काॅश, आदिका त्रिशुल, रूद्राक्षको माला, दियो र शंख घण्टा राख्न सकिन्छ।

थानभित्र एक सानो माटाको मैरो बनाईएको हुन्छ, त्यसलाई 'गादी' भनिन्छ । फलामको डण्डी सहितको धुपौरो (सोटा) त्यसमा राखिन्छ। गौरो कैलाश तर्फ फर्केको ठाउॅ वा पाखोमा बनाइन्छ। मष्ट देवतालाई बाल व्रम्ह्चारी(अविवाहित) मानिन्छ। त्यसैले उनलाई एकातिर निराकार (कुनै आकार र रूप नभएका) मानेर मूर्ति बनाई छानामुनि राख्ने काम गरिन्न केबल ढुङ्गो थापेर पूजा गरिन्छ भनें अर्कोतिर पूजा गर्दा रंगीचंगी फूलहरूले पूजा पनि गरिँदैन सेता फूलहरूले मात्रै पूजा गरिन्छ।

दमाईंहरूले पूजाका बखत वाजा वजाउने र कामीहरूले त्रिशुल, करवा, लिङ्गो, सुटो(ठड्यौरो) आदि वनाएर सघाउने हुॅदा समाजमा उनीहरु मष्ट पूजाका अभिन्न अंग मानिन्छन्।

धेरै ठाउँमा बाह् भाइ मष्ट र तिनका नौं वहिनी भवानी हुन् भनिन्छ। 
तर जे जति र स्थानिय नाम अनुसार जे भने पनि मष्टको स्वभाव अनुसार यी देवताहरू खासगरी तीन किसिमका हुन्छन् :
एउटा- भोग (बलि) खाने-दाढे,
दोस्रो - दूध मात्रै खाने-दुधे र
तेस्रो - बलि र दूध दुवै खाने-रोडे ।
यिनै तीन मध्ये कसैले एउटालाई त कसैले अर्कोलाई कुल देवताको रूपमा पूजा गर्ने गरेको पाइन्छ।

गौरो फुटाई अन्यत्र लैजानेहरूलाई विधि पूर्वक धामीले लालमोहर गरेर दिईन्छ। फूटेर जानेहरूलाई कुनैपनि चिज तिर्न तिराउन पाइदैन। एकपटक फुटेर गएकोलाई फेरि मिसाउन पनि सकिन्छ।

चिरञ्जीवी पौडेल
२०७७ जेठ




सन्दर्भ स्रोतहरू:
• मस्टो हाम्रो कुलदेवता: डा. माधव प्रसाद पोखरेल, परिशिष्टाकं झन नयाँ, २०७६ मंसीर, काठमाडौं ।
• खस जातिको इतिहास: बालकृष्ण पोखरेल, फिनिक्स बुक्स, काठमाडौं ।
• The State and Society in Nepal: Historical Foundation and Contemporary Trends, Himal Books, Lalitpur.
• डा. विपीन अधिकारी :नेपालमा खस जाति, आर्य खसका १५००० वर्ष, मधुवन प्रकाशन काठमाडौं।


Monday, May 18, 2020

घरवेटी बा लाई चिठ्ठी

आदरणीय घरवेटी बा,
नमस्कार।

म तपाईँको काठमाडौंको सोह्रखुट्टेको तल्लो घरको छिँडीको सानो चाॅही कोठामा बस्ने गोविन्द।
त्यो कुनापट्टिको अँध्यारो कोठा छ नि, हो त्यही के बा । तपाईँले कहिलेकाही मलाई मायाॅ गरेर गोफ्ले भनेर बोलाउनु हुन्थ्यो नि हो त्यही गोफ्ले ।

बा लाई थाहै छ, लकडाउन भएपछि पनि केही दिनसम्म त म काठमाडौंमै थिएॅ । पछि पैसा नि सकियो, खुल्ने सुरसार नि भएन, अनि बस्न गाह्रो भो, अनि म त उता सामाखुसी तिर बस्ने साथीहरूको कोठामा गएँ।
२ दिन त्यहाॅ साथीहरूकहाॅ बसेपछि रातीको समयमा हिड्यौं र ६ दिनका दिन गाउॅमा आईपुगिम।
'डिक्जाम' बाबु र 'रहेसा' नानीलाई त म जान्छु होला बस्न गाह्रो भयो, कलेज खुल्ने कुरा पनि ठेगान भएन भनेर एकपटक भनेको थिएॅ । तर बा लाई भेट्न मौका मिलेन। नानी बाबुहरूले हजुरबा संग भने, भनेनन् थाहा भएन।

बा अब कोरोनाको महामारी लामो हुने जस्तो छ। अब काठमाडौंमा फर्केर बसिएला जस्तो छैन । लामो समयसम्म तपाईँको कोठामा ताला लगाईराख्ने कुरा पनि भएन। त्यसैले मेरो कोठाको साॅचो त्यही ट्वाइलेट अगाडिको र् याकमा थुप्रै पुराना जुत्ता छन् नि बा, हो त्यही ६ नम्बरका मेरा सेता जुत्ता छन् हो त्यसैको भित्रपट्टि छ। त्यसैले खोल्नुहोला। नभटिए ताला फुटाले पनि हुन्छ।
अॅ बा फागुन सम्मको कोठाभाडा तिरेकै हुॅ । तपाईको कालो गातोवाला बही खातामा पनि लेख्नुभ्एकै होला। अव त्यस यताको भाडा मेरो कोठाका सामानबाट मिलाउनुहोला। ग्यासचुलो, सिलिन्डर, कुकर, ताप्के, कटौरा, गिलास, थाल, सिरक, डसना, तन्ना, खाट लगायतका सामान गर्दा तपाईँको बाॅकी भाडा असुल हुन्छ होला जस्तो लाग्छ।
अॅ बा, खाटको एउटा खुट्टा भाॅचिएको छ, विस्तारै खोल्नुहोला नत्र तपाईको खुट्टा थिच्ला फेरि । अलि होसियार हुनुहोला।
डसना चाॅही राम्रो छ बा। एकदम नयाँ हो। बजारमा रामदेव रामदेव भन्छ नि हो त्यही व्राण्डको हो बा।

ग्यास चुल्हो मैले नि सेकेन्ड हेन्ड किनेको हुॅ। कस्तो छ मलाई पनि धेरै थाहा छैन बा । त्यसमा मैले एकदुई पटक मात्रै पकाएको हो। बल्दा अलि पिरो धुवाँ आउथ्यो। तपाईलाई थाहै छ बा मैले धेरैजसो वाहिरै खान्थे।

त्यही बाहिर तन्दुरी रोटी खाएर आउॅदा त हो नि बा एक दिन तपाईँले मलाई ढिलो कोठामा आईस भनेर गाली गर्नु भा को। तपाईँले भन्नु भा थ्यो नि बा - 'ए गोफ्ले यतिवेला कोठामा आउने हो? यस्तै हो भनें मेरो कोठा छोडिहाल, म तँलाई राख्दिन, काला गए गोरा आउॅछन् भनेर।'
अब साॅच्चिकै गोरा आउने वेला भएजस्तो छ बा । तर बा गोरा हरूबाट पैसा लिएपछि हात धुनचाॅही नविर्सनु होला है । बरवाद होला फेरि ।

तर बा तपाईँले जे भने नि मैलै माईन्ड चाॅही गरेया छैन है । मलाई त बा ले माया गरेर मलाई गोफ्ले भनेको जस्तो लाग्थ्यो। त्यसैले त म कहिले पनि रिसाउन्नथें नि हैन र बा। साॅच्चै हो बा मलाई त तपाई मेरै बा जस्तो लाग्थ्यो। के गर्नू बा कहाबाट यो कोरोना आइदियो।

अॅ बा अब धेरै के लेखम् । घरवेटीआमा, विपुलदाई, सविना भाउजू, डिक्जाम र रहेसा लाई पनि सम्झ्याछ भन्दिनुहोला।
हस् त बा नमस्ते।

उही
गोविन्द/गोफ्ले
शितगंगा - ५, जुकेना
अर्घाखाँची।