Monday, February 18, 2019

सडक



सडक विवेकशील छ, बढी कर तिर्नेलाई बीचबाट हिंडाउँछ, कम तिर्नेलाई छेऊबाट हिंडाउँछ ।
अनि सडक समाजवादी पनि छ, तिर्दै नतिर्नेलाइ पनि कम से कम फूटपाथ बाट त हिडाउँछ ।

 सडक दयावान छ, घरवार विहीनलाइ बास दिन्छ अनि भिखारी र अशक्त लाई साथ दिन्छ, असहायलाई अास दिन्छ ।

कसैलाई जन्मने ठाउँ हो सडक , अनि कसैलाई मर्ने ठाउँ, त कसैलाई दुवै पनि ।
त्यसैले
सृष्टि, पालन र संहारकर्ता, ब्रम्ह्रा, विष्णु र महेश्वर हो सडक ।

छलछाम जान्दैन सडक,  छली गर्नेलाई देखिसहन्न ।
त्यसैले  त कर छल्नेलाई बरू अाकाशको बाटो देखाईदिन्छ, तिनको अनुहारै हेर्न नचाहे झै गरि ।
षडयन्त्र जान्दैन सडक, उदार र खुलापन रूचाउँछ,
 त्यसैले त षडयन्त्रहरू सडकमा हैन, अध्यारा कोठाहरूमा बुनिन्छन् ।

कहिले अौधी खुशी हुन्छ सडक
अनि अविर जात्रा र रथारोहण गराउँछ,
ठाँटवाँट सहित सवारी चलाउँछ ।
कहिले बेस्सरी रिसाउँछ सडक,
अनि तिनैलाई,
 नाङ्गेझार पारेर शहर घुमाउँछ।

त्यसैले त,
कसैले सडकमा मुख देखाउन  कठिन होला  भनेर चिन्ता गर्छन्,
अनि कसैले  सडकमा पुगिएला भनेर चिन्ता गर्छन् ।
अजिव छ सडक,
कसैसंग पराजित हुन जानेकै छैन,
'सडक विजेता' कोही बन्न सक्दैन ।
मान्छे भ्रममा बाचेको छ,
हुनै नसक्ने 'सडक विजेता' को अहंकार पालेर ।

यमलोकको अध्ययन प्रतिवेदन




यमलोकमा यमराजलाई एक दिन त्यहाँको विद्यमान दण्ड व्यवस्थामा सुधार गर्न ईच्छा भयो -
मान्छेलाई उसले जीवनकालमा गरेका कर्महरू अनुसार पुरस्कृत वा दण्डित गर्ने गरिएको छ , छैन ? यसमा कसैलाई घटीवढी परी अन्याय पो भएको छ कि ? अथवा दण्ड व्यवस्थामा केही सुधार गर्ने ठाउँ छ कि ? उनले एउटा व्यवस्थित अध्ययन गराउने विचार गरे ।

यस्तो महत्वपूर्ण कामको जिम्मा कसलाई दिने ?  फेरि अनुगमन र अध्ययनको काम विनापूर्वाग्रह निष्पक्ष ढंगले हुनुपर्ने कुरामा यमराज दृढ थिए । धेरै सोचविचार गरेपछि उनलेे यो कामको जिम्मा चित्रगुप्तलाई दिने निर्णय गरे ।

गहिरो अध्ययन गरेपछि चित्रगुुप्तले यो अनुभव गरे कि धेरै कुराहरू ठीकठाक संग नै चलिरहेका छन् ।
तर पृथ्वीलोकका जेलहरूमा अपराधीहरू मध्येपनि कुख्यात अपराधीहरूलाई राख्न जेल भित्र पनि जेलको व्यवस्था गरिएको हुनेरहेछ र त्यसलाई गोलघर भनिने रहेछ भन्ने तथ्य उनले थाहा पाए।
मलोकमा गोलघरको व्यवस्था नभएको कारणले गर्दा खासगरी
नीतिगत भ्रष्टाचार गरेर यमलोक आउनेहरूलाई सजाय कम भएको र उनीहरूलाई त्यहाँ गोलघरमा राख्न नसकिएकोले त्यसको व्यवस्था गर्नुपर्ने सुझाव दिने विचार गरे ।

फेरि उनलाई के समस्या भयो भनें त्यस्ता गोलघरहरूको संख्या कति बनाउन सिफारिश गर्ने ? कस्ता कस्ता कसुर गरेर आउने कुन कुन तहका व्यतिहरूलाई त्यहाँ राख्नेगरी व्यवस्था गर्न सिफारिस गर्ने ? यो प्रकृयागत कुरा भएकोले यसका लागि उनले यमलोकका अनुभवी प्रशासकहरूको राय लिने निधो गरे ।
केहीदिनपछि उनीसमक्ष प्राप्त भएका रायहरू यस्ता थिए:-
१. गोलघरको संख्या सकेसम्म कम गर्नु उपयुक्त हुने; २.  नीतिगत कसुर भन्नाले निर्वाचित वा मनोनित पदाधिकारीबाट भएको कसुर मात्र बुझिने व्यवस्था गर्ने; ३. गोलघर सकभर नवनाउने र बनाउने नै हो भने पनि नमूनाको लागि एउटा मात्रै वनाउने । ४. पेन्सन पाउने पदमा कार्यरत व्यक्तिलाई गोलघरमा राख्न नमिल्ने ।५. गोलघरको व्यवस्था गर्दाका बखत कार्यरत रहेकालाई भूतप्रभावी हुनेगरी कानून लागू गर्न नमिल्ने  हुँदा अब भविश्यमा नियुक्ति हुनेहरूको हकमा मात्रै लागू गर्ने व्यवस्था गर्ने अादि ।

यी रायहरू अध्ययन गरेपछि चित्रगुप्तले यमराज समक्ष यस्तो सिफारिश गरे :-

महाराज,
"आफू र अाफ्नो स्वार्थलाई केन्द्रविन्दुमा राखेर नीतिगत राय व्यक्त गर्ने कामलाई गम्भीर फौजदारी कसुर मान्नेगरी कानूनमा व्यवस्था गर्नुपर्ने अावश्यकता रहेको देखियो साथै विद्यमान परिस्थितिलाई विचार गर्दा ग‍ोलघरहरूको संख्या र यमलोकका मन्त्रालयहरूको संख्या करीव करीव बरावरको संख्यामा अावश्यक पर्ने देखिएको व्यहोरा जाहेर गरेको छु ।" अागे महाराजको जो आज्ञा ।

- चिरञ्जीवी पौडेल 

Sunday, February 17, 2019

यसरी भयो जुकेनामा पौडेलहरूको वसोवास



-चिरञ्जिवी पौडेल
 २०७५ साल माघ १९ गते (तदनुसार २ फेव्रुअरी, सन् २०१९ ) का दिन आदरणीय बुवा मित्रलाल पौडेललाईज्यूलाई भेट्न म र मेरो श्रीमति सुमित्रा काठमाण्डौ धापासीस्थित वहाँको निवासमा पुगेका थियौं ।आफ्नो उमेरको शताव्दी नजिक पुग्न लाग्नुभएका आदरणीय बुवासंग भेटेर कुराकानी गर्न पाउँदा हामी गौरवान्वित भएका छौ । निवासमा दिनभर वहाँ र वहाँका सुपुत्र, बुहारी, नातीहरु  लगायतका परिवारसंग  रमाईलो गफ गरेर वसियो । खाजा खाँदै गर्दा वसिवियालोको रुपमा अर्घाखाँचीको जुकेनामा पौडेलहरुको वसोवास कसरी फैलियो ? भन्ने हाम्रो जिज्ञासाका सन्दर्भमा बुवाले आफ्नो ज्ञान र अनुभव हामीसंग वाँड्नु भयो ।

उक्त भनाइहरु सबै पुरै तथ्यमा आधारित हुन वा होइनन् भन्ने हाम्रो दावी होईन ।तर पनि यी अनुभव र भनाइहरु सबैका लागि उपयोगी नै हुने ठानेर यहाँ प्रस्तुत गर्ने जमर्को गरिएको छ । यसको उद्देश्य कुनै समयमा कसैले यस विषयमा थप अध्ययन गर्न चाहेमा थोरै भएपनि सहयोगी सन्दर्भ सामाग्रीको रुपमा प्राप्त गर्न सकून भन्ने उद्देश्यले लेख्यरुप दिइ प्रकाशन गरिएको हो । यसरी उतार्दा हाम्रो सुनाइ र बुझाइलाई सकेसम्म वहाँको भनाइको भाव जस्ताको तस्तै उतार्ने प्रयास गरिएको छ । यस सन्दर्भमा यहाँहरुको कुनै फरक अनुभव, ज्ञान र धारणा हुनसक्ने कुरामा हामी सचेत छौं । यहाँहरुबाट प्राप्त हुनसक्ने आलोचना वा फरक सुझावले हामीलाइ अझ खुशी तुल्याउने कुरा जानकारी गराउन चाहान्छौं ।     

हिले भारतको गढवाल नजिक 'पोडी ' भन्ने स्थानमा उपाध्यायहरुको वसोवास थियो । त्यस ठाउँमा मुस्लिमहरुले दंगा गर्न थालेपछि उनीहरु आफ्नो थातथलो छोडेर पूर्वतर्फ लागे ।उनीहरु 'कालीकोट' भन्ने ठाउँमा आईपुगे । कोही बीचैमा औलो लागेर र हैजाले बिरामी परेर मरे भनें बाँचेर आइपुगेकामध्ये केही कालीकोटमा वसे र केही जुम्लाको 'सिञ्ज ' उपत्यकामा बसे । जुम्लाका राजाले सिञ्जामा बसेकाहरुलाइ जमिन दिएका थिए तर जो कालीकोटमा बसेका थिए उनीहरु थोरै थिए र उनीहरुले जमिन नपाएका हुँदा उनीहरुको जीवनयापन कठीन थियो । त्यहाँ 'विष्ट' राजा थिए । उनकै सेवक भई केही उपाध्यायहरु वसे । तिनीहरु 'पोड' बाट आएका हुँनाले त्यहाँका मानिसहरुले उनीहरुलाई 'पोडीवाला' वा 'पोडीवाल' भन्न थाले । ती विष्ट राजाका एकमात्र सन्तान थिए जो अपाङ्ग थिए । ती सन्तान पनि जवान अवस्थामै विते । राजाका कुनै सन्तान नभएपछि उनलाई चिन्ता भयो । उनले आफ्नो विश्वासपात्र लक्काजवान सेवक एक 'पोडीवाल' लाई भने –  हेर अव मेरा सन्तान छैनन, म तिम्रो विवाह गरिदिन्छु तर क्षेत्रीय कन्यासंग । शुरुमा ती व्राम्हणले मानेनन् तर पछि राजाले उनलाई राजी गराए । उनले क्षेत्री कन्यासंग विवाह गराइदिए । उनीहरुबाट चार छोराहरु जन्मिए । त्यतिबेलाको धार्मिक समाजमा उनले चार छोराहरु जन्मिएपनि आफ्नी पत्नी र छोराहरुसंग अलग्गै भान्सा गर्थे । उनीहरुले पकाएको खाँदैनथे । यो कुरा उनकी पत्नीलाइ मन परेको थिएन । त्यसले उनले एकदिन आफ्ना पतिसंग भनिन् -   हेर बुढा, मेरा त चार छोराहरु छन् तर तिम्रा सन्तान खोई ?  उनले जवाफ दिए – यी छोरहरु मेरै सन्तान त हुन नि के कुरा गरेकी तिमीले ? पत्नीले भनिन- त्यसो भए किन यिनले छोएको खानुहुन्न त ?  पत्नीको प्रश्नले बुढा अक्क न बक्क भए ।

उनले धेरै सोचविचार गरेपछि आफ्नो धार्मिक विश्वासका कारण एउटै भान्सा गर्नुभन्दा बरु अर्को विवाह गर्ने निधो गरे । त्यो ठाउँ, छोरा र पत्नी सबै छोडेर दैलेखमा गई अर्को विवाह गरेर बस्न थाले ।त्यहाँ पनि उनका फेरि भार भाई सन्तान जन्मिए जो उपाध्याय कुलकै पत्नीबाट जन्मिएका थिए ।
यत्तिकैमा कालीकोट र दैलेख दुवै ठाउँमा एकैपटक भारत देखि नै आक्रमण गर्दै र लुटदै आएका मुसलमानहरुले आक्रमण गरे । त्यतिवेला उनीहरुले व्राम्हणहरुको जनै र टुप्पी काटिदिने, पाका महिलाहरुलाइ मारिदिने, युवतीहरुलाई बुर्का लगाउन बाध्य बनाई आफूसंगै लिएर जाने गर्न थालेपछि केही महिलाहरु भागेर ज्यान बचाए भनें केहीले उनीहरुको कव्जामा पर्नु अगाडि नै आत्महत्या गर्नु उचित ठानेर त्यसै गरे ।

ती 'पोडीवाल' पनि आफ्नी पत्नी र छोराहरुसहित पूर्वतर्फ लागे ।उनीहरुको हुलमा जुम्लाको सिञ्जाबाट पनि मानिसहरु थपिए, किनकी त्यहाँ पनि वस्न सक्ने अवस्था थिएन । आक्रमण त्यहाँ पनि फैलिइसकेको थियो ।तिनीहरुमध्ये धेरै बाटैमा हैजा लागेर मरे । केहीचाँही हालको अर्घाखाँचीको 'धातिवाङ्ग' भन्ने ठाउँमा वस्न थाले ।तर उनीहरुसंग जमिन नभएकोले जीवनयापन सहज भएन । पछि लामो समय त्यहीं वसिरहेकाहरुले धेरै लामो समयको कष्ट पश्चात जमिन पनि प्राप्त गरे । तर केही चाँही त्यहाँपनि लामो समय नबसी फेरि हिंडे ।

दैलेखवाट हिंडेका 'पोडीवाल' परिवारमा आमा र चारभाईमध्ये तीन छोराहरुको बाटोमै हैजाका कारणले निधन भैसकेको थियो । वाँकी रहेको एउटा सानो छोरालाई लिएर उनी अर्घाखाँचीको पाली भन्ने ठाउँमा आइपुगे । तर त्यतिवेला उनी आफै विरामी परे । धन सम्पत्ति र जग्गा जमिन केही नभएको हुँदा उनी पौवामा सानो छोरा सहित वसे । तर उनलाई अब आफू छिट्टै मरिने र सानो छोराको विचल्ली हुने चिन्ता भयो । उनले गाउँलेहरुलाई आफ्नो सबै वृतान्त सुनाए र आफू र आफ्नो छोरा व्राम्हण भएको कुरा पनि सुनाए । उनले आफ्नो मृत्युपछि आफ्नो छोरको कोहीपनि नभएको तथा सम्पत्ति पनि केही नभएकोले उसलाइ कुनै राजा अथवा आश्रय दिने कुनै ठूलो मान्छेकहाँ पुर्याइदिन विन्ति गरे । उनको मृत्युपछि उनको अन्तिम ईच्छा त्यस्तो रहेको कुरा पाली नजिकै रहेका 'खाँची' का राजाकहाँ पुग्यो । गाउँलेहरुले उनका टुहुरा छोरालाई पनि राजाकहाँ पुर्याइदिए । राजाले उसलाइ गाइ गोठालोको काम दिएर आश्रय दिए ।राजाको गाइगोठ ठाडामा रहेकोले उनी त्यहीं वसेर गाइको सेवा गर्न थाले ।

गागोठाला 'पोडीवाल' पनि जवान भैसकेका थिए । उनको विवाह गर्ने उमेर भएपछि उनको लागि मिल्दो जात र थरको कन्याको खोजी भयो तर उनको आफ्नो सम्पत्ति केही नभएको र उनलाई आश्रय राजाले दिएको भएपनि उनको जग्गा जमिन लगायत घरवास पनि नभएको र गरीव भएकोले उनीसंग आफ्नी छोरीको विवाह गराइदिन आसपासका उपाध्याय व्राम्हणहरु तयार भएनन् । त्यसपछि राजाले 'खाँच' भन्दा केही टाढा रहेको हालको पणेनाका एक जैसी वाहुनकी छोरीसंग उनको विवाह गराइदिए ।तिनीहरु ठाडामै राजाका गाईको सेवा गरेर वस्न थाले । त्यहाँ उनीहरुका पाँचभाई छोराहरु जन्मिए । 

उता मुस्लिमहरुको निरन्तरको आक्रमण र लुटपाट पूर्वतर्फ फैलिइरहेकै थियो । त्यसैवेला 'खाँची' नजिकै रहेको 'खुम्चिकोट' का टाकुरे राजामाथि पनि दक्षिणतर्फबाट आएका मुस्लिमहरुले आक्रमण गरी लुटपाट मच्चाए ।उनीहरुको आक्रमणको उद्देश्य राज्य जितेर लिनु थिएन बरु धनदौलत लुटेर लैजानु थियो ।उनीहरुले राजालाई लखेटे र धेरै धनसम्पत्ति लिएर गए । तर 'खाँची' का राजा निकै शक्तिशाली रहेको र उनको अरु वलिया राजाहरुसंग पनि रहेकाले मुस्लिमहरुले त्यहाँ आक्रमण गरी सम्पत्ति लुट्ने हिम्मत गरेनन् ।

'खुम्चिकोट' का टाकुरे राजाले आफू भाग्नु अघि केही सम्पत्ति लुकाउने, केही कसैलाई वाँडिदिने पनि गरेका थिए ।

एकदिन ठाडा नजिकै गंगाखोलाको शिर तर्फको जंगलमा गाइ चराउन गएको बेला ती गोठालाले गाइ जान नसक्ने खोल्सी परेको ठाउँमा राम्रो घाँस रहेको देखेपछि त्यहाँ गए । घाँस काट्दै खोल्सीबाट तल तल झर्दै थिए उनले झाडीभित्र एउटाअचम्मको चिज फेला पारे ।त्यहाँ एउटा गाग्रीमा ढुंगाको विर्को लगाई वुटामा बाँधेर राखिएको थियोजुन 'खुम्चिकोट' का टाकुरे राजाले आफू भाग्नु अघि लुकाएको धन थियो । उनले त्यसलाई खोलेर हेर्दा प्रशस्तै तामाका सिक्का रहेको फेला पारे र लिएर आए । राजालाई उनले त्यो कुराको जानकारी गराएपछि राजाले उनको चित्त दुखाएर त्यो धन लिन चाहेनन् बरु उनको चित्त बुझाएरै त्यो धन लिने विचारले गरे र भनें   अव यो के गर्छौ बाहुन ? उनले केही भन्न सकेनन् । अनि राजाले भनें- तिम्रा पनि सन्तान छन् । धेरै समय मेरो सेवा पनि गर्यौ । अहिले मेर राज्यमा दौलतको खाँचो पनि छ । यो मैले राख्छु र तिमीलाई जमिन दिन्छु । अव तिमी र तिम्रा सन्तानले आफ्नै किसिमले गरेर खाउँ । उनले राजाको कुरामा सहमति जनाएपछि राजाले उनलाई ठाडाको प्रशस्त जमिन दिए ।

राजाले एक जना गोठालोलाई त्यति धेरै जमिन दिएको र आफूहरुभन्दा धनी धएको कुरा त्यहाँ पहिलेदेखि वसेका मानिसहरुलाइ मन परेको थिएन । तर राजाले दिईसकेकाले उनीहरु बोल्न सकेका थिएनन् । केही समयममै उनीहरुले आफ्नो असन्तुष्टिको यो कुरा राजाकहाँ पुर्याए । उनले गाईको सेवा गर्दै लामो समय आफ वसेको, आफ्ना पाँचजना छोराहरु जन्मिएको र आफूले जीवन व्यतित गरेको ठाउँ ठाडामै वस्न चाहे पनि राजाले ठाडामा झगडा गराउन चाहेनन् । त्यसैले उनला र उनका पाँच छोराहरुका लागि ठाडाको सट्टा 'जुकेना' दिन प्रस्ताव गरे ।'पोडीवाल'बाट 'पौडेल' वा कसै कसैले 'पौड्याल' समेत भनेर वोलाउन थालिसकेका उनले पनि आफ्ना दुइ छोराहरुले त्यहीं ठाडामै विवाह गरिसकेका हुँदा तथा छोराका ससुरालि कुटुम्वहरु समेत भैसकेका त्यहाँका मान्छेहरुसंग झगडा गर्न उचित ठानेनन् र पाँचभाइ छोराहरुसहित 'जुकेना' गए ।

यसैबच ठाडातर्फका मान्छेहरुले जुकेनामा पनि केही चलाखी गरे । उनका छोराहरुमा पनि दुईभाई आफ्ना ज्वाई भैसकेका हुँदा आफ्ना छोरी ज्वाइहरुले जुकेनामा पनि रोजेर जमिन लिन पाउनुपर्ने अरुभाईहरुले वाँकी रहेको लिनुपर्ने भन्दै उनीहरुले निहुँ खोज्ने र भाइ भाइमा झगडा गराइदिने गर्न थाले । आखिर उनीहरुले भनेंजसरी नै तारतम्य पनि मिलाए । जसअनुसार ती दुइ ज्वाइ पर्नेभाइहरुले 'तल्लो जुकेना' तर्फ रोजे अन्य तीन भाइहरुले 'गल्ढुङ्ग' लगायत 'माथिल्लो जुकेना''खर्क' समेतमा जमिन कमाई वस्न थाले । तर दासेखर्क भनें वीचमा पर्ने भएकोले तलतर्फ र माथितर्फका दुवैको दावी रह्यो ।माथि र तलका बीच ठूलो झगडा भयो । एकले अर्कोतर्फकालाइ गाइवाख्रा चराउन र घाँस काट्न नदिने, पिट्ने, लखेट्ने गर्न थाले ।त्यसैले दुवैतर्फका त्यहाँ एकलै जान डराउन थाले । मानिस जान र वस्तुभाउ चराउन नगएपछि लामो समयमा काँडाघारीले घेरिएर त्यो ठाउँ दुम्मदास झाडीले ढाकिएर रह्यो । त्यसैले त्यस ठाउँलाइ 'दासेखर्क' भन्न थालियो । धेरैपछि त्यो ठाउ जबरवस्ती रुपम माथिल्लो गाउँ तर्फकाले कब्जा गरे । तल्लो गाउँतर्फकाले दावी गर्न विस्तारै छोडे । गल्ढुङ्गतर्फकाले चिउरीखोलादेखि पश्चिम कमाउन थाले भनें तल्लो गाउँकाले दमार कमाउन थाले ।

यसैवीच ठाडामा अर्को रडाको मच्चियो कि- ठाडामा वस्नेहरुले भन्दा जुकेनातर्फ जानेहरुले धेरै धेरै जमिन पाए भन्ने । त्यसपछि उनीहरुले ठाडामा ज्यादै कम जमिन रहेका त्यहाँका केही मान्छेहरुलाई उनीहरुले नै जुकेनामा लगेर जमिन कव्जा गरेर वस्न पठाए र त्यसका लागि सहयोग गरे । त्यसरी पठाउँदा आफ्ना ज्वाईहरुको भागतर्फ उनीहरुले चलाएनन् । सकेजति अरु तीन भाइहरुको भागमा परेको तर्फ कव्जा गरे । खासगरी ठाडाबाट जुकेनातर्फ जाँदा मुखतर्फ नै उनीहरुले लिई आफ्ना मान्छेको वसोवास गराउन सफल रहे । उनीहरु ठाडाबाट आएका हुनाले उनहरुलाइ पहिले पहिले 'ठडाली' र पछि 'डँडाली' भन्न थालियो । पछि गाउँलेहरुको आवश्यकता अनुसार लुगा सिलाउन सिपालु मान्छेहरुको वसोवास गाउँको वीचमा पर्नेगरी अन्य ठाउँबाट ल्याएर वसोवास गराइए ।उनीहरुलाई जमिन दिंदा दुवैतर्फकाले थोरै थोरै गरेर दिए । कृषिकार्यमा सहयोग गर्नका लागि सबैजना मिलेर केही अन्य व्यक्तिहरुको वसोवासको पनि प्रवन्ध मिलाए ।केही चाँही आफ्ना आफन्तहरु आएपछि पछि आफै आएर पनि वसोवास गर्न थाले । यसरी अहिलेको सुन्दर जुकेनाको राम्रो सामाजिक आधार तयार भयो ।

इतिश्री ।