सडक विवेकशील छ, बढी कर तिर्नेलाई बीचबाट हिंडाउँछ, कम तिर्नेलाई छेऊबाट हिंडाउँछ ।
अनि सडक समाजवादी पनि छ, तिर्दै नतिर्नेलाइ पनि कम से कम फूटपाथ बाट त हिडाउँछ ।
सडक दयावान छ, घरवार विहीनलाइ बास दिन्छ अनि भिखारी र अशक्त लाई साथ दिन्छ, असहायलाई अास दिन्छ ।
कसैलाई जन्मने ठाउँ हो सडक , अनि कसैलाई मर्ने ठाउँ, त कसैलाई दुवै पनि ।
त्यसैले
सृष्टि, पालन र संहारकर्ता, ब्रम्ह्रा, विष्णु र महेश्वर हो सडक ।
छलछाम जान्दैन सडक, छली गर्नेलाई देखिसहन्न ।
त्यसैले त कर छल्नेलाई बरू अाकाशको बाटो देखाईदिन्छ, तिनको अनुहारै हेर्न नचाहे झै गरि ।
षडयन्त्र जान्दैन सडक, उदार र खुलापन रूचाउँछ,
त्यसैले त षडयन्त्रहरू सडकमा हैन, अध्यारा कोठाहरूमा बुनिन्छन् ।
कहिले अौधी खुशी हुन्छ सडक
अनि अविर जात्रा र रथारोहण गराउँछ,
ठाँटवाँट सहित सवारी चलाउँछ ।
कहिले बेस्सरी रिसाउँछ सडक,
अनि तिनैलाई,
नाङ्गेझार पारेर शहर घुमाउँछ।
त्यसैले त,
कसैले सडकमा मुख देखाउन कठिन होला भनेर चिन्ता गर्छन्,
अनि कसैले सडकमा पुगिएला भनेर चिन्ता गर्छन् ।
अजिव छ सडक,
कसैसंग पराजित हुन जानेकै छैन,
'सडक विजेता' कोही बन्न सक्दैन ।
मान्छे भ्रममा बाचेको छ,
हुनै नसक्ने 'सडक विजेता' को अहंकार पालेर ।
No comments:
Post a Comment