Monday, February 18, 2019

यमलोकको अध्ययन प्रतिवेदन




यमलोकमा यमराजलाई एक दिन त्यहाँको विद्यमान दण्ड व्यवस्थामा सुधार गर्न ईच्छा भयो -
मान्छेलाई उसले जीवनकालमा गरेका कर्महरू अनुसार पुरस्कृत वा दण्डित गर्ने गरिएको छ , छैन ? यसमा कसैलाई घटीवढी परी अन्याय पो भएको छ कि ? अथवा दण्ड व्यवस्थामा केही सुधार गर्ने ठाउँ छ कि ? उनले एउटा व्यवस्थित अध्ययन गराउने विचार गरे ।

यस्तो महत्वपूर्ण कामको जिम्मा कसलाई दिने ?  फेरि अनुगमन र अध्ययनको काम विनापूर्वाग्रह निष्पक्ष ढंगले हुनुपर्ने कुरामा यमराज दृढ थिए । धेरै सोचविचार गरेपछि उनलेे यो कामको जिम्मा चित्रगुप्तलाई दिने निर्णय गरे ।

गहिरो अध्ययन गरेपछि चित्रगुुप्तले यो अनुभव गरे कि धेरै कुराहरू ठीकठाक संग नै चलिरहेका छन् ।
तर पृथ्वीलोकका जेलहरूमा अपराधीहरू मध्येपनि कुख्यात अपराधीहरूलाई राख्न जेल भित्र पनि जेलको व्यवस्था गरिएको हुनेरहेछ र त्यसलाई गोलघर भनिने रहेछ भन्ने तथ्य उनले थाहा पाए।
मलोकमा गोलघरको व्यवस्था नभएको कारणले गर्दा खासगरी
नीतिगत भ्रष्टाचार गरेर यमलोक आउनेहरूलाई सजाय कम भएको र उनीहरूलाई त्यहाँ गोलघरमा राख्न नसकिएकोले त्यसको व्यवस्था गर्नुपर्ने सुझाव दिने विचार गरे ।

फेरि उनलाई के समस्या भयो भनें त्यस्ता गोलघरहरूको संख्या कति बनाउन सिफारिश गर्ने ? कस्ता कस्ता कसुर गरेर आउने कुन कुन तहका व्यतिहरूलाई त्यहाँ राख्नेगरी व्यवस्था गर्न सिफारिस गर्ने ? यो प्रकृयागत कुरा भएकोले यसका लागि उनले यमलोकका अनुभवी प्रशासकहरूको राय लिने निधो गरे ।
केहीदिनपछि उनीसमक्ष प्राप्त भएका रायहरू यस्ता थिए:-
१. गोलघरको संख्या सकेसम्म कम गर्नु उपयुक्त हुने; २.  नीतिगत कसुर भन्नाले निर्वाचित वा मनोनित पदाधिकारीबाट भएको कसुर मात्र बुझिने व्यवस्था गर्ने; ३. गोलघर सकभर नवनाउने र बनाउने नै हो भने पनि नमूनाको लागि एउटा मात्रै वनाउने । ४. पेन्सन पाउने पदमा कार्यरत व्यक्तिलाई गोलघरमा राख्न नमिल्ने ।५. गोलघरको व्यवस्था गर्दाका बखत कार्यरत रहेकालाई भूतप्रभावी हुनेगरी कानून लागू गर्न नमिल्ने  हुँदा अब भविश्यमा नियुक्ति हुनेहरूको हकमा मात्रै लागू गर्ने व्यवस्था गर्ने अादि ।

यी रायहरू अध्ययन गरेपछि चित्रगुप्तले यमराज समक्ष यस्तो सिफारिश गरे :-

महाराज,
"आफू र अाफ्नो स्वार्थलाई केन्द्रविन्दुमा राखेर नीतिगत राय व्यक्त गर्ने कामलाई गम्भीर फौजदारी कसुर मान्नेगरी कानूनमा व्यवस्था गर्नुपर्ने अावश्यकता रहेको देखियो साथै विद्यमान परिस्थितिलाई विचार गर्दा ग‍ोलघरहरूको संख्या र यमलोकका मन्त्रालयहरूको संख्या करीव करीव बरावरको संख्यामा अावश्यक पर्ने देखिएको व्यहोरा जाहेर गरेको छु ।" अागे महाराजको जो आज्ञा ।

- चिरञ्जीवी पौडेल 

No comments:

Post a Comment