बाचा र कबूल, ईमान र प्रतिज्ञा, विश्वास जान्दैन त्यो !
जनहरू झरून् या मरून् सडकमा, परवाह मान्दैन त्यो !!
जाल, झेल र कमाल विना धनको, चुनाव ठान्दैन त्यो !
मिलोस् विजयीमाला कुनै रीतले, पाँचवर्ष फर्कन्न त्यो !!
परिवर्तन शुरू स्वयं आफूबाटै, खराब सुनिन्न त्यो !
आफन्तजनका तिमी र तपाईँ, पुरानो भेटिन्न त्यो !!
गाडीमा सिसा, त्यो पनि कालो, बाटोमा देखिन्न त्यो !
सियोस् अनि बक्सियोस् अब, अप्रिय लाग्दैन त्यो !!
तस्कर, दलाल, ठग र फटाहा, पराई ठान्दैन त्यो !
जनहरू बोलुन पीडा र मर्म, ऊ बोली सुन्दैन त्यो !!
आशक्ती राखी विशाल धनको, कर्तव्य सम्झन्न त्यो !
सागरमै डुबोस् मोह र लोभको, प्यास अझै मेटिन्न त्यो !
जनमतबाटै तिरष्कृत नभई, शक्ति त छाड्दैन त्यो !
बेचेर सबै निष्ठा र ईमान, केही बाँकी राख्दैन त्यो !!
बाहिर परे तर्सिन्छ आफै, आत्माले ढाॅटदैन त्यो !
जाग्ने पो हुन की पुराना फाइल, निदाउन सक्दैन त्यो !!
- चिरञ्जीवी पौडेल
२०७६, मााघे सङ्क्रान्ति ।
No comments:
Post a Comment